काठमाडौं / काठमाडौंको तीनकुनेस्थित वागमती पुलसँगै निर्माणाधीन सहायक पुलको वाल पुनःनिर्माण कार्य सुस्त गतिमा अघि बढ्दा त्यस क्षेत्रको आवतजावत प्रभावित भएको छ।
लामो समयदेखि निर्माण कार्य जारी रहँदा स्थानीयवासी, पैदलयात्री र सवारी चालकले दैनिक सास्ती खेपिरहेका छन्। निर्माण सामग्री र उपकरणका कारण फुटपाथ आंशिक रूपमा अवरुद्ध भएपछि पैदलयात्रीहरू सडकबाटै हिँड्न बाध्य छन्। व्यस्त सडकमा सवारीसाधनको चाप उच्च हुने भएकाले दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ।
स्थानीय व्यवसायी र सर्वसाधारणले निर्माण कार्य निर्धारित समयमै सम्पन्न नहुँदा दैनिक आवागमनमा समस्या बढेको गुनासो गरेका छन्। उनीहरूले निर्माणस्थलमा पर्याप्त सुरक्षा व्यवस्था, स्पष्ट सूचना तथा पैदलयात्रीका लागि सुरक्षित वैकल्पिक मार्गको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।






































