काठमाडौं ।  कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको यात्रुवाहक बस फ्लाइओभरको संरचनामा ठोक्किँदा एक महिलाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।

दुर्घटनामा करिब ४० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते ६ जनालाई तत्काल बी एण्ड बी अस्पतालमा उपचारका लागि पठाइएको छ। बा२ख ३५९० नम्बरको बस दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।

तर यो दुर्घटनाले एउटा गम्भीर प्रश्न पनि उठाएको छ—नवनिर्मित ग्वार्को फ्लाइओभर कति सुरक्षित छरु केही समयअघि मात्रै सञ्चालनमा आएको यो संरचनामा पटक–पटक सवारी दुर्घटना भइरहँदा सडकको डिजाइन, ट्राफिक व्यवस्थापन, संकेत चिन्ह र चालक सचेतनाबारे प्रश्न उठ्न थालेका छन्।

स्थानीयवासीले फ्लाइओभर क्षेत्रमा पर्याप्त चेतावनी बोर्ड, स्पष्ट लेन व्यवस्थापन र गति नियन्त्रणका उपाय प्रभावकारी नभएको गुनासो गर्दै आएका छन्। दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहे पनि यस घटनाले सडक सुरक्षाप्रति सम्बन्धित निकायको तयारीमाथि फेरि बहस सुरु गराएको छ।

अब दुर्घटनाको कारण पत्ता लगाउने मात्रै होइन, यस्ता घटना दोहोरिन नदिन फ्लाइओभरको सुरक्षा व्यवस्थाको व्यापक समीक्षा गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ।