काठमाडौं। जेन–जेड आन्दोलनका क्रममा घाइते भएका युवाहरूले आफ्ना अधिकार, पुनस्र्थापना र आपसी समन्वयलाई संस्थागत गर्ने उद्देश्यसहित काठमाडौंको बबरमहलमा ‘घाइते जेन–जेड नेपाल’ को केन्द्रीय कार्यालय स्थापना गरेका छन्।
नवस्थापित कार्यालयको उद्घाटन जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद श्रीयम चौलागाईं का बुवा गणेश चौलागाईं ले गरेका हुन्। उद्घाटन समारोहमा आन्दोलनमा सहभागी घाइतेहरू, विभिन्न सामाजिक व्यक्तित्व तथा भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत उपस्थित थिए।
आयोजकका अनुसार यो कार्यालय घाइतेहरूको साझा प्लेटफर्मका रूपमा सञ्चालन हुनेछ। आन्दोलनका क्रममा घाइते भएकाहरूको हकहित, उपचार, पुनस्र्थापना, कानुनी सहयोग तथा विभिन्न सरोकारका विषयमा आवाज उठाउने उद्देश्यले संस्था स्थापना गरिएको जनाइएको छ।
कार्यक्रममा वक्ताहरूले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको योगदानको सम्मान गर्दै उनीहरूको समस्या समाधानका लागि राज्यले थप जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
नवगठित संस्थाले आगामी दिनमा देशभर रहेका घाइतेहरूको तथ्यांक संकलन, समन्वय, राहत तथा पुनस्र्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ।






































