काठमाडौं / जेनजी अभियन्ता मिराज ढुंगानाले सामान्य घटनामा समेत नेपाली सेनालाई परिचालन गर्ने प्रवृत्ति उचित नभएको बताएका छन्।
उनले यस्ता निर्णयले दीर्घकालीन रूपमा सुरक्षा संयन्त्रमाथिको जनविश्वास कमजोर हुन सक्ने चेतावनी दिएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालै भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताए। सुरक्षा व्यवस्थापनका नाममा अत्यधिक बल प्रयोग गर्नुको सट्टा परिस्थितिअनुसार संयम अपनाउनुपर्ने उनको भनाइ थियो।
ढुंगानाले प्रहरीलाई एसएलआरसहित परिचालन गर्ने र सामान्य घटनामा पनि जङ्गी अड्डाबाट सेना निकाल्ने अभ्यासले सेनाको गरिमा र विश्वसनीयतामाथि असर पर्ने दाबी गरे। उनका अनुसार सुरक्षा निकायप्रति जनविश्वास कायम राख्न सरकारले दीर्घकालीन सोचका साथ निर्णय लिनुपर्छ। उनले सेनालाई बारम्बार सामान्य घटनामा प्रयोग गरिँदा भविष्यमा त्यसको प्रभावकारिता र जनविश्वास दुवै कमजोर हुन सक्ने बताए।
फरक प्रसङ्गमा ढुंगानाले हालैको साम्प्रदायिक घटनाले देशमा सुरक्षा व्यवस्थापन र राजनीतिक नेतृत्वको भूमिकामाथि गम्भीर समीक्षा आवश्यक रहेको धारणा पनि राखे।