काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को तीन वर्षे बीए आंशिक तथा मौका परीक्षाको नतिजा लामो समयसम्म सार्वजनिक नहुँदा हजारौं विद्यार्थी उच्च शिक्षा, रोजगारी र विभिन्न प्रवेश परीक्षाबाट वञ्चित भएका छन्। नतिजा ढिलाइको विरोध गर्दै विद्यार्थीहरूले त्रिविका निकायदेखि हेलो सरकार सम्म उजुरी दिएका छन्।
विद्यार्थीका अनुसार २०८२ सालमै परीक्षा फाराम भरिए पनि परीक्षा २०८३ जेठमा मात्रै सञ्चालन भयो। परीक्षा सकिएको लामो समय बितिसक्दा पनि नतिजा नआएपछि एलएलबी लगायतका उच्च शिक्षामा भर्ना हुन नपाएको गुनासो उनीहरूको छ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको र भदौको पहिलो साताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ। कार्यालयका अनुसार करिब ३ हजार २०० विषयका उत्तरपुस्तिका परीक्षण भइरहेको छ।
यसैबीच परीक्षा र नतिजामा हुने निरन्तर ढिलाइ रोक्न सरकारले उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार अबदेखि स्नातक तथा स्नातकोत्तर तहको परीक्षाफल ६० दिनभित्र सार्वजनिक गर्नुपर्नेछ भने अन्तिम सेमेस्टरको नतिजा ३० दिनभित्र अनिवार्य रूपमा प्रकाशन गर्नुपर्नेछ।
विश्वविद्यालय अनुदान आयोगले सबै विश्वविद्यालयलाई क्यालेन्डर कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ। क्यालेन्डरअनुसार प्रवेश परीक्षा, भर्ना, पठनपाठन र परीक्षा सञ्चालनको समयसमेत निश्चित गरिएको छ, जसले अब शैक्षिक गतिविधिलाई नियमित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
विद्यार्थीहरू भने सरकारले ल्याएको नयाँ व्यवस्था व्यवहारमै कार्यान्वयन भए मात्र वर्षौंदेखिको ढिलासुस्ती अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।






































