काठमाडौं। तीज नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा नयाँ गीतहरूको लहर चलिरहेका बेला लोकप्रिय सर्जक, गायक तथा मोडल कस्तुप पन्तको टिपिकल तीज गीत ‘खाली भयो जेब’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका एलिना चौहानसँगको सशक्त सहकार्यमा आएको यो गीतले तीजको मौलिक स्वाद, बदलिँदो सामाजिक यथार्थ र युवतीका मनका रहरलाई एउटै कथामा बाँध्दै दर्शक–श्रोताको ध्यान तानेको छ।
तीज केवल नाचगान र रमाइलोको पर्व मात्र होइन, नेपाली महिलाका भावना, आशा, आस्था र जीवनका भोगाइ अभिव्यक्त गर्ने सांस्कृतिक उत्सव पनि हो। यही भावभूमिलाई केन्द्रमा राख्दै ‘खाली भयो जेब’ मार्फत सर्जक पन्तले बढ्दो महँगी, पूरा हुन नसकेका रहर र भगवान् महादेवप्रतिको विश्वासलाई गीतमार्फत मार्मिक तर मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेका छन् । यही कारण गीत सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा चर्चा बटुल्न थालेको छ।
गीतमा मौलिक सिर्जनाका धनि शब्दका खानी सर्जक पन्तको शब्द तथा संगीत रहेको छ । कर्णप्रिय स्वरका धनि एलिना चौहान र रामजी खाँणको सुमधुर स्वरले गीतलाई थप जीवन्त बनाएको छ। संगीत संयोजन रमेश सेन्चुरी, मिक्सिङ तथा मास्टरिङ कुमार पुन, रेकर्डिङ मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो। रेकर्डिष्टका रूपमा खुमन राना र सुमन राना रहेका छन्।
गीतको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। चर्चित मोडल एलिना रायमाझी र पार्वती श्रेष्ठको जीवन्त अभिनय तथा ऊर्जावान नृत्यले तीजको उत्साहलाई पर्दामा उतारेको छ। स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशन, करण चैसिरको छायाङ्कन र बिनोद बमको सम्पादनले भिडियोलाई अझ कलात्मक र दर्शकमैत्री बनाएको छ।
लामो समयदेखि नेपाली संगीत क्षेत्रमा एकपछि अर्को सफल सिर्जना दिँदै आएका कस्तुप पन्त र एलिना चौहानको यो नयाँ सहकार्यलाई यस वर्षको तीजका सम्भावित चर्चित गीतमध्ये एकका रूपमा हेरिएको छ। मौलिकता, सशक्त प्रस्तुति, सन्देशमूलक भाव र आधुनिक संगीत संयोजनको सन्तुलनले ‘खाली भयो जेब’ लाई यस वर्षको तीजमा दर्शक–श्रोताको रोजाइ बन्ने बलियो आधार दिएको निर्माण पक्षको विश्वास छ।






































