काठमाडौं। पूर्वी नेपालको ऊर्जा क्षेत्रमा ठूलो महत्व राख्ने १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना अब निर्णायक निर्माण चरणमा प्रवेश गरेको छ। ताप्लेजुङमा आयोजना अन्तर्गत सुरुङ (टनेल) खन्ने काम औपचारिक रूपमा सुरु भएसँगै आयोजनाको भूमिगत संरचना निर्माणले गति लिएको हो।
फुङलिङमा आयोजित विशेष कार्यक्रममा विस्फोटक पदार्थ प्रयोग गरेर पहिलो टनेल ब्लास्टिङ गरिएको हो। यससँगै करिब २३ अर्ब ४ करोड रुपैयाँ लागतको आयोजना अब भौतिक निर्माणको सबैभन्दा चुनौतीपूर्ण चरणमा पुगेको मानिएको छ।आयोजना निर्माण गरिरहेको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीप कुमार चौधरीले सुरुङ खन्ने कार्य केवल निर्माणको सुरुवात नभई नेपालको ऊर्जा आत्मनिर्भरता र आर्थिक समृद्धितर्फको महत्वपूर्ण कदम भएको बताए। उनले निर्धारित समयमै उच्च गुणस्तरसहित आयोजना सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
यस आयोजनाको वित्तीय व्यवस्थापन यसअघि नै टुंगिएको छ। सिद्धार्थ बैंकको नेतृत्वमा र माछापुच्छ्रे बैंकको सह–नेतृत्वमा १७ अर्ब २८ करोड रुपैयाँ ऋण तथा ५ अर्ब ७६ करोड रुपैयाँ स्वपुँजीमार्फत परियोजनाको लगानी सुनिश्चित गरिएको कम्पनीले जनाएको छ। ताप्लेजुङका फुङलिङ नगरपालिका, मिक्वाखोला, मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिका क्षेत्रमा फैलिएको यो आयोजना सम्पन्न भएपछि वार्षिक करिब ७११ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ। नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (एएब्) भइसकेकाले २०८५ असोज २५ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।
आयोजनाका लागि आवश्यक पहुँच सडक, बाँधस्थल, सुरुङ प्रवेशद्वार तथा पावरहाउससम्मको सडक संरचना निर्माण भइसकेको छ भने विस्फोटक पदार्थ सुरक्षित भण्डारणका लागि आवश्यक पूर्वाधार पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ। ऊर्जा उत्पादन बढाउने राष्ट्रिय लक्ष्यसँग जोडिएको यो आयोजना सम्पन्न भएपछि पूर्वी नेपालको विद्युत् उत्पादन क्षमता उल्लेखनीय रूपमा वृद्धि हुनुका साथै स्थानीय रोजगारी, पूर्वाधार विकास र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।






































