काठमाडौं / जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले पार्टीले आफ्ना राजनीतिक एजेन्डा शान्तिपूर्ण आन्दोलन र संसदीय अभ्यासमार्फत अघि बढाउने बताएका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले लोकतान्त्रिक प्रक्रिया अपनाउँदै सडक आन्दोलन र संसदीय अभ्यास दुवै माध्यमबाट पार्टीको अभियान सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार पार्टीले मुलुकको राजनीतिक स्थायित्व, राष्ट्रिय एकता र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर आफ्नो कार्यक्रम अघि बढाउनेछ। जबराले नेपाल विविध जाति, जनजाति, भाषा र धर्मावलम्बीहरूको साझा देश भएकाले सबैलाई समेट्ने राजनीतिक संरचनाको आवश्यकता रहेको धारणा राखे।
उनले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै देशलाई स्थायित्वतर्फ लैजान वैकल्पिक सोच आवश्यक रहेको बताए। उनले पार्टीको प्रमुख एजेन्डामध्ये सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र अभिभावकीय भूमिकासहितको संवैधानिक राजसंस्थाको पुनर्स्थापना रहेको दोहोर्याउँदै त्यसका लागि शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासलाई नै आधार बनाइने स्पष्ट पारे।जबराले नेपालको प्राकृतिक स्रोत–साधनको प्रभावकारी उपयोग गर्न सके मुलुकलाई समृद्ध राष्ट्रका रूपमा विकास गर्न सकिने उल्लेख गरे।
वर्तमान राजनीतिक नेतृत्वको गलत नीति र स्वार्थका कारण देश आर्थिक रूपमा पछाडि परेको आरोप लगाउँदै विकास र सुशासनलाई पनि पार्टीको प्राथमिकतामा राखिएको बताए।






































