काठमाडौं / होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ ल्याउने तयारीलाई अघि बढाउन आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको कम्पनीले जनाएको छ।त्यसैगरी, आईपीओबाट प्राप्त हुने रकमको उपयोगसम्बन्धी प्रस्तावमाथि पनि छलफल गरिनेछ।
साथै, आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। यसका अतिरिक्त, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण तथा अन्य नियमित प्रस्तावहरू पनि सभाबाट अनुमोदन गरिने कम्पनीले जनाएको छ।
होटल सिराईचुलीले आईपीओमार्फत सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने तथा संकलित पुँजीलाई व्यवसाय विस्तार र पूर्वाधार विकासमा उपयोग गर्ने योजना अघि सारेको छ।






































