रौतहट /निरन्तरको वर्षासँगै लाल बकैया खोलामा आएको बाढीले रौतहटको राजपुर नगरपालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग पुनः डुबानमा परेको छ।
सडक जलमग्न भएपछि स्थानीयवासीले वर्षेनि दोहोरिने समस्याको दीर्घकालीन समाधान गर्न सरकारसँग माग गरेका छन्।राजपुर नगरपालिका अन्तर्गत फतुवा पुलको पश्चिमतर्फ रहेको सडक खण्डमा खोलाको पानी कम्मरसम्म पुगेपछि आवतजावत प्रभावित भएको छ। सडकमाथिबाट तीव्र बहावसहित पानी बगिरहेकाले यात्रा जोखिमपूर्ण बनेको छ। हुलाकी राजमार्ग तराई–मधेसको प्रमुख सडक सञ्जालमध्ये एक हो।
यही मार्गबाट दैनिक रूपमा सयौँ सवारीसाधन र यात्रु ओहोरदोहोर गर्ने भए पनि वर्षायाम सुरु भएसँगै यो खण्ड नियमित रूपमा डुबानमा पर्ने गरेको स्थानीयको गुनासो छ। वैकल्पिक सडकको अभावले नागरिकहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। स्थानीयका अनुसार हरेक वर्ष मनसुनमा यही समस्या दोहोरिने गरे पनि स्थायी संरचना निर्माणतर्फ सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको आरोप छ।
उनीहरूले सडकको स्तरोन्नति, प्रभावकारी निकास व्यवस्था तथा बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना कार्यान्वयन गर्न माग गरेका छन्। यता सम्भावित दुर्घटना रोक्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। जलस्तर थप बढे सडक पूर्ण रूपमा बन्द गर्न सकिने सुरक्षा निकायले जनाएको छ।
जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनले वर्षा अझै जारी रहने सम्भावना रहेको भन्दै नदी आसपासका बासिन्दा तथा हुलाकी राजमार्ग प्रयोग गर्ने यात्रुलाई उच्च सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेका छन्।






































