सर्लाही /सरकारले अनुदानमा उपलब्ध गराएको डीएपी मल चर्को मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा क्षेत्रमा अनुदानित मल अवैध रूपमा बिक्री भइरहेको सूचनापछि गरिएको निगरानीका क्रममा मलंगवा नगरपालिका–१० स्थित कृष्ण जेनरल स्टोर किराना पसलमा डीएपी मल बढी मूल्यमा बिक्री भइरहेको फेला परेको हो।

प्रहरीले पसल सञ्चालन गर्ने मलंगवा नगरपालिका–७ निवासी २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिनन्दन रायलाई नियन्त्रणमा लिएको छ। उनीहरूले अनुमति बिना खेतीका लागि अनुदानमा उपलब्ध हुने डीएपी मल प्रतिबोरा तीन हजार पाँच सय रुपैयाँमा बिक्री गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पसलमा गरिएको खानतलासीका क्रममा ५०–५० किलोका चार बोरा डीएपी मल बरामद गरिएको थियो। अनुसन्धानका क्रममा उक्त मल मलंगवा नगरपालिका–३ निवासी २८ वर्षीय राहुल गुप्ताको पसलबाट खरिद गरिएको खुलेपछि प्रहरीले त्यहाँ पनि छापा मारेको थियो। गुप्ताको पसलबाट थप सात बोरा डीएपी मल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद मलसहित तीनै जनालाई पक्राउ गरी कालोबजारीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ।