काठमाडौं / जापानले दोस्रो विश्वयुद्धका क्रममा हिरोसिमामा भएको आणविक बम आक्रमणको ८१औँ वर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाएको छ।
विनाशकारी आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झना गर्दै विश्व शान्ति र मानवताको संरक्षणमा जोड दिइएको छ। जापानी सार्वजनिक प्रसारक एनएचकेका अनुसार हिरोसिमास्थित पिस मेमोरियल पार्कमा आयोजित स्मृति समारोहमा प्रधानमन्त्री ताकाइची सानेसहित १२३ देश तथा क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा आक्रमणका पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै स्मारकमा अद्यावधिक नामावली राखिएको थियो।
हालसम्म स्मारकमा ३ लाख ५३ हजार ६३९ जनाको नाम समावेश गरिएको छ। सन् १९४५ अगस्ट ६ मा बिहान ८ः१५ बजे अमेरिकाले ‘लिटिल ब्वाई’ नामक युरेनियम आधारित आणविक बम हिरोसिमामा खसालेको थियो। विस्फोट, अत्यधिक ताप र विकिरणका कारण त्यसै वर्षको अन्त्यसम्म करिब एक लाख ४० हजार मानिसको ज्यान गएको अनुमान गरिएको छ। त्यसको तीन दिनपछि अगस्ट ९ मा नागासाकीमा ‘फ्याट म्यान’ नामक दोस्रो आणविक बम खसालिएको थियो।
यी दुई आक्रमणपछि जापानले अगस्ट १५ मा आत्मसमर्पण गरेसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो। आक्रमणबाट बाँचेकाहरू, जसलाई जापानमा ‘हिबाकुसा’ भनिन्छ, अझै पनि विकिरणका दीर्घकालीन स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। जापानमा हाल करिब ९१ हजार हिबाकुसा जीवित रहेको र उनीहरूको औसत उमेर ८६ वर्ष पुगेको जनाइएको छ।
स्मृति दिवसका अवसरमा हिरोसिमाले युद्धको पीडा कहिल्यै नदोहोरियोस् भन्ने सन्देश दिँदै अन्तर्राष्ट्रिय समुदायलाई शान्ति, मानवता र आणविक हतियारको पूर्ण उन्मूलनका लागि साझा प्रयास गर्न पुनः आग्रह गरेको छ।






































