काठमाडौं / जिल्ला प्रशासन कार्यालय काठमाडौंले धुम्रपानसम्बन्धी कानुनी व्यवस्था पालना नगर्ने होटल तथा रेष्टुरेन्टमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।

बुधबार सूचना जारी गर्दै प्रशासनले उपत्यकाभित्र सञ्चालित सबै होटल तथा रेष्टुरेन्टलाई सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ को पूर्ण पालना गर्न निर्देशन दिएको हो। प्रशासनका अनुसार धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउनुपर्नेछ। साथै, धुम्रपानका लागि छुट्याइएको स्थान चारैतिरबाट बन्द हुने तथा त्यसबाट निस्कने धुवाँ अन्य व्यक्तिसम्म नपुग्ने गरी व्यवस्थापन गर्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ।

कार्यालयले सम्बन्धित निकायसँग समन्वय गरी नियमित अनुगमन गरिने जनाएको छ। अनुगमनका क्रममा ऐनविपरीत धुम्रपानको व्यवस्था गरेको वा कानुनी प्रावधानको पालना नगरेको पाइएमा सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ को दफा १७ बमोजिम अधिकतम कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।