काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि सेवा निवृत्त भएका थिए ।
गुरागाईँले २०८१ भाद्र २७ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार २०८१ असोज ७ गते काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पद बहाली गरेका थिए । उमेरका कारण आजदेखि उनी अनिवार्य अवकाशमा जाएका हुन् । महानगरपालिकाले आज उनीलाई बिदाइ गरेको छ ।
बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्यहरू, विभागीय प्रमुखहरू, महाशाखा प्रमुखहरू सहभागी भएका थिए । बिदाइ कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले कर्मचारी, जनप्रतिनिधि र साझेदार निकायसँग सहकार्य, समन्वय र सहअस्तित्वका लागि गुरागाईँले गरेको प्रशासनिक नेतृत्व काठमाडौं महानगरपालिकाले स्मरण गरिरहने बताइन् ।
‘पद अस्थायी हो । सेवा स्थायी हो,’ कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘पदीय दायित्व सकिए पनि सेवा सकिँदैन । सेवा निवृत्त जीवनमा यहाँको सेवा यात्रा अझ परिष्कृत हुने अपेक्षा गरेका छौँ ।’
काठमाडौं महानगरको इतिहासमा उनी गुरागाईँ नै प्रमुख प्रशासकीय अधिकृत पदबाट सेवा निवृत्त पहिलो अधिकारी छन् । कार्यक्रममा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले भने, ‘महानगरपालिकाको संस्थागत विकासका लागि यहाँको ज्ञान, सिप र अनुभव काम लाग्छ । यहाँबाट त्यस प्रकारको सेवाको अपेक्षा गरेका छौँ ।’
बिदाइ अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आफ्नो साढे ३२ वर्षे सेवा अवधिमा काठमाडौं महानगरमा सेवा गरेको अवधि सबैभन्दा स्मरणीय रहेको बताए । ‘प्रशासनिक सेवामा आउने उतारचढाव कर्मचारीका लागि स्वाभाविक हुन् । मैले सहज रूपमा लिएको छु,’ उनको भने । २०५१ साल पुस १९ गते शाखा अधिकृत पदबाट सङ्घीय निजामती सेवामा प्रवेश गरेका गुरागाईँको सेवा कालको सबैभन्दा धेरै समय स्थानीय सेवामा बित्यो ।
त्यस क्रममा उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब २ वर्ष र स्थानीय तहमा करिब २१ वर्ष सेवा गने ।






































