काठमाडौँ / त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ । हाल चारवर्षे रहेको स्नातक तहको पढाइलाई तीनवर्षे बनाउन भएको व्यापक छलफलपछि त्रिविले यस्तो तयारी गरेको हो । चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि फेरि तीनवर्षे बनाउने तयारी भएको त्रिविको व्यवस्थापन सङ्कायमा डिन प्रा डा डिल्लीराज शर्माले बताए ।

त्रिविले सबैभन्दा पहिला २०७१७२ सालदेखि व्यवस्थापन संकायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो । मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा चारवर्षे प्रावधान लागु भएको एक चक्र पनि पूरा भएको छैन । चारवर्षे पढाइका लागि प्रथम ब्याचमा भर्ना भएका यस संकायका विद्यार्थीले अहिले तेस्रो वर्षको परीक्षा दिइरहेका छन् ।

OM Sai Pathibhara Hospital

विश्वविद्यालयको गत असार १४ गते बसेको प्राज्ञिक समितिको बैठकमा स्नातकलाई तीन वर्षमै झार्नुपर्ने सुझाव विभिन्न संकायका डिनले दिएका थिए । परीक्षा नियन्त्रण कार्यालयले समेत स्नातकलाई चारवर्षेबाट झारेर तीनवर्षे नै बनाउनुपर्ने राय व्यक्त गरेको हो ।

पछिल्लो समय त्रिविमा विद्यार्थीलाई एउटै तह उत्तीर्ण गर्न चार वर्ष समय खर्च गर्नुपर्ने बाध्यता छ । त्यसमाथि परीक्षा सञ्चालन तथा नतिजा सार्वजनिकको काम नियमित नहुँदा स्नातक तह उत्तीर्ण हुन न्यूनतम पाँच वर्ष कुर्नुपर्ने बाध्यता छ ।