झापा / सुनसरी बराहक्षेत्र वडा नं ९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा आफ्नै साथीहरूलाई कुटपिट गरी भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने तीन जना युवती पक्राउ परेका छन् । कुटपिट गरेको आरोपमा पाँच जनामाथि जाहेरी परेको थियो, जसमध्ये हालसम्म तीन जना पक्राउ परिसकेका छन् भने दुई जना फरार छन् ।

सुनसरी बराहक्षेत्र वडा नं १० प्रकाशपुर बस्ने १९ वर्षीय प्रीति लिम्बू घटना भएकै दिन सुनसरीको महेन्द्रनगरबाट पक्राउ परेकी थिइन् । पक्राउ परेपछि उनीमाथि अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ ।

OM Sai Pathibhara Hospital

त्यसपछि मंगलबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षक राजेश दत्तको कमान्डको विशेष प्रहरी टोलीले इटहरी बजारबाट थप दुई जना आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र वडा नं ८ बस्ने १८ वर्षीय दुर्गा राई र सोही ठाउँमा बस्ने २२ वर्षीय बिनिता उराउ रहेका छन् । प्रहरीले उनीहरूलाई लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो ।

जिप्रका सुनसरीका अनुसार असार २९ गते पाँच जना युवतीले आफ्नै गाउँकी १९ वर्षीय मनिषा राईसहित तीन जनालाई चिहान डाँडाको कोशी किनारमा बोलाएका थिए । त्यसपछि तीनै जनालाई पालैपालो कुटपिट गरी भिडिओ बनाएर सामाजिक सञ्जालमा राखे । सो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि पीडितहरूले असार ३१ गते इप्रका महेन्द्रनगरमा जाहेरी दरखास्त दिएका थिए । फरार रहेका बाँकी दुई युवतीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।