काठमाडौं / नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रूपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
गत माघ १० गते रूपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए । बैंक अफ काठमाडौंको उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि विजयबहादुर यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ ९१० बाट निर्वाचित भएका थिए ।
पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएर भूमि व्यवस्था तथा सहकारीमन्त्री बनेपछि जसपाले उनलाई कारबाही गरेको थियो ।