झापा / पर्वत गएराति जिप दुर्घटना हुँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन । जिल्लाको कुश्मा नगरपालिका- ३ दुर्लुङको गौडामुनिमा जिप दुर्घटना हुँदा घाइते भएकी कुश्मा- ३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा मृत्यु भएको हो ।

टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ ज ५२२९ नं को जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०–३५ मिटर तल खसेको छ । जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए ।