बिर्तामोड / देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच वर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले चार वर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८० देखी २०८५ सम्मका लागि आफ्नो रणनीति योजना तयार गरेको हो ।

मनमोहनले पाँच वर्ष भित्र कुन कुन विषयको के कसरी पठनपाठन गराउने , भौतिक पूर्वाधार अनि दक्ष जनशक्ति के कसरी र कस्तो तयार गर्ने र शिक्षक र कर्मचारीहरूलाई कुन मूल्याङ्कनको आधारमा पुरस्कृत गर्ने भन्नेबारे छलफल गरेर पाँच वर्षे रणनीति तयार गरेको विश्वविद्यालयका उपकुलपति डा सुवास श्री पोखरेलले बताए । उपकुलपति पोखरेलका अनुसार रणनीति निर्माणमा विज्ञहरू हिक्मतबहादुर बस्नेत र भवानी सुवेदीले  सहयोग गरेका थिए । शिक्षक र कर्मचारीहरूलाई पुरस्कृत गर्ने आधारबारे प्राध्यापक डिल्ली प्रसाईँले जानकारी गराएका थिए ।

OM Sai Pathibhara Hospital

छलफलमा पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायका डिन देविप्रसाद भट्टराई ,प्राध्यापक कृष्ण पोखरेल , मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बराल , उद्योगी सोमनाथ अधिकारी , उद्योग संगठन मोरङका पूर्व अध्यक्ष मुकेश उपाध्याय लगायतले आवश्यक सुझावहरू दिएका थिए ।

पाँच बर्षे रणनीति छलफलमा बोल्दै   उपकुलपति डा सुवास श्री पोखरेलले देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले छोटो समयमै आफ्नै अनुसन्धान केन्द्र स्थापना गरेर पाँच वटा विषयमा अनुसन्धान गरिसकेको जानकारी गराए । उनले मनमोहन लोकसेवा हैन आफ्नै दक्षतामा रोजगार पाउने गरि दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यलाई उच्च प्राथमिकता दिइरहेको जानकारी गराए । उनले दक्ष जनशक्तिहरू विदेश पलायन हुने क्रमलाई रोक्न मनमोहन सफल हुँदै जाने विश्वास व्यक्त गरे ।

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल आधारभुत , मध्यमस्तर र उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्नेगरी पठनपाठन सुरु भैरहेको छ । मनमोहनमा हाल इन्जिनियरिङतर्फका सिभिल र इलेक्ट्रोनिक्स अनि पारामेडिकल तर्फ विफार्मेसी स्नातकतर्फका पठनपाठन भैरहेको छ । चालु शैक्षिक सत्र देखी प्राकृतिक चिकित्सातर्फको स्नातक तहको कक्षा पनि सुरु गर्ने तयारी भैरहेको छ ।