झापा / झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ जाँदै गरेको बस चितवनको दासढुङ्गामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं -२९ दासढुङ्गामा बस दुर्घटना भएको हो ।
आज बिहान ५: २० बजे बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएको हुन् ।
दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । घाइतेहरूमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ । बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अडकिएको छ र त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । बसलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।