बिर्तामोड / सामाजिक सञ्जालको दुरुपयोग गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका- ५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट सहित ७ जना रहेका छन् ।
उदयपुर कटारी नगरपालिका- ४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा तपाईँलाई सामान र अमेरिकी डलर ७० हजार पठाइदिएको छु भन्दै त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरूलाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
साथै उनीहरूले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरु उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ(एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।