काठमाडौँ / १६ वर्षीय किशोरीलाई शरीर बन्धक बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाङ्काल गाउँपालिका- ३ बस्ने २० वर्षीय सुमन न्यासुर रहेका छन् ।
असार २२ गते बेलुकीदेखि किशोरी हराएको भन्ने निवेदन असार २४ गते प्राप्त भएको तथा ती किशोरीलाई सुमनले सोही गाउँपालिका- ६ स्थित बुद्ध थोकरको घरमा थुनेर राखेको भन्ने उजुरी असार २६ गते प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा सुमनलाई पक्राउ गरेको हो ।
उनलाई शरीर बन्धक लिन नहुने मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । साथै पीडित किशोरीलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।