बिर्तामोड / विराटनगरमा यात्रीलाई मुक्का हान्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गर्ने १९ वर्षीय आयुष भेटवाल पक्राउ परेका हुन् । गत बुधबार राति साढे ८ बजे विराटनगर महानगरपालिका -४ दुधफार्मस्थित कोशी राजमार्गमा आयुष सहित ३ जना बा १५ च ३४४५ नम्बरको कारमा सवार थिए । कारमा १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्की पनि थिए ।
राजमार्गमा विपरीत दिशाबाट आइरहेका साहलाई देखेपछि कारबाट ओर्लिएर उनीहरूले मुक्का हानेका थिए। मुक्का प्रहारपछि साह बेहोस भएका थिए । बेहोस भएका साहलाई आयुषले सडकमा केही परसम्म घिसारेको सिसीक्यामेरा फुटेजमा देखिएको थियो ।
उक्त घटनाको फुटेज सामाजिक सञ्जालमा भाइरल छ । पक्राउ परेका आयुषमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्य दुई जनाको खोजी भइरहेको छ । गलत दिशाबाट साइकल चलाएर आएको भन्दै आयुषले साहमाथि मुक्का हानेका थिए । प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार यो घटनामा संलग्न रहेका एक जनालाई पक्राउ गरिएको छ भने अरू २ जनाको खोजी भइरहेको छ ।