बिर्तामोड / मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हत्याको धम्की दिई फिरौती रकम माग गरेको अभियोगमा एक व्यक्तिलाई आज सीआइबीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको राहबेँसी गाउँपालिका– १ घर भई काठमाडौं महानगरपालिका– ४ चुनदेवी बस्दै आएका ४० वर्षीय रमेश गुरुङ रहेका छन् ।
सिआइबीका अनुसार गुरुङले प्रसाईंसँग ३० करोड रुपैयाँबाट बार्गेनिङ सुरु गरेको र ६ करोड हुँदै अन्तिममा ५ करोडमा कुरो टुङ्गिएको हो । गुरुङले असार १३ गतेदेखि प्रसाईंलाई प्रवेश लामाको नामबाट हत्याको धम्की दिँदै फिरौती मागेको बताइएको छ। फिरौती लिन आएको अवस्थामा गुरुङलाई मंगलबार महाराजगन्जबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको सीआइबीले जनाएको छ ।