काठमाडौं / मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए।
लाम्जुरापास डाडाँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उनको भनाइ छ । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको उनले जानकारी दिए। दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौंबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो ।
सोलुखुम्बुको सुर्केबाट विहान ९ : ५२ बजे काठमाडौं उडेको कल साइन एनए–एमभी भएको हेलिकोप्टर विहान १०:१ बजे सम्पर्कविहीन भएको थियो। मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार हेलिकोप्टरमा पाइलट सहित छ यात्रु सवार थिए। उनका अनुसार हेलिकोप्टरमा सवार पाँच जना मेक्सिकन नागरिक हुन् ।
क्याप्टेन
१. चेत बहादुर गुरुङ
यात्रुहरू
१. फर्नान्डो सिफुग्नेट्स
२. रिनकन इस्माइल
३. एबरिका गोन्जालेक्स
४. ओलासियो गोन्जालेज
५. मारिया होजे सिफुन्तेस