काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको पुष्टि भएको छ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९ एनए एमभी कलसाइन भएको हेलिकोप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका ५ साविक भकान्जे गाविसको लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त भएको लिखुपपिके ५ का वडा अध्यक्ष ङिमा छिरी लामाले पुष्टि गरेका छन् ।
मनाङ एयर दुर्घटनाग्रस्त क्षेत्रमा ६ जनाको शव फेला परेको छ। स्थानीयका अनुसार, दुई जनाको शव सग्लो छ भने बाँकीको क्षतविक्षत अवस्थामा छ। जहाजमा पाइलटसहित ६ जना थिए।
मंगलबार विहानैदेखि सम्पर्कविहीन मनाङ एयरको हेलिकोप्टर सुर्के नजिकै सोलुखुम्बुको लिखु पिके गाउँपालिकास्थित लाम्जुरा पास भन्ने ठाउँमा दुर्घटना भएको थियो।
उद्धारका लागि हेलिकोप्टर पठाइए पनि मौसम धुम्मिएका कारण दुर्घटनास्थल पुग्न सकेको छैन। स्थलमार्गबाट प्रहरी परिचालन गरिएको छ।
कम्पनीका सुरक्षा प्रबन्धक राजु न्यौपानेका अनुसार, हेलिकोप्टर खोजीका लागि नेपाल प्रहरीको टोली देउराली भन्ज्याङ भन्ने ठाउँमा परिचालन भइसकेको छ। हेलिकोप्टर क्याप्टेन चेत गुरुङको कमाण्डमा थियो।
उनका अनुसार, पाँच जना मेक्सिकन नागरिक लिएर हेलिकोप्टर सोमबार माउन्टेन फ्लाइटका लागि लुक्ला पुगेको थियो। यो हेलिकोप्टर काठमाडौं उडान अघि सुर्के आएर बसेको थियो।
९ एन-एएमभी कलसाइनको हेलिककोप्टर मंगलबार बिहान १० बजे यात्रुसहित सोलुखुम्बुको सुर्केबाट काठमाडौं उडान गरेको थियो। उडान गरेको १५ मिनेटमै सम्पर्कविहीन भएपछि खोजीका लागि अर्को हेलिकोप्टर गएको थियो।