काठमाडौं / अवैध रुपमा सुन ल्याएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने १२ जना नेपालीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साह रहेका छन् ।
नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार बिहान १० बजे विमानस्थल उत्रेका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको साथमा स- साना परिमाणका सुनका गहना फेला परेका थिए । प्रहरीका अनुसार उनीहरूले करिब २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५ सय ४९ बराबरको सुन लगायत कारोबार गरेको देखिएको छ ।