एजेन्सी / पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट भारतका बिभिन्न स्थान गरि ३४ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै हिमाचल प्रदेशमा ११ जना, उत्तर प्रदेशमा ८ जना, उत्तराखण्डमा ६, दिल्लीमा ३ तथा जम्मु–कश्मीर, हरियाणा र पञ्जाबमा दुई–दुई जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । भारतमा झण्डै ५० वर्षयताकै ठूलो वर्षा भएको छ ।
हिमाचल प्रदेशमा २०० मिलिमिटर भन्दा माथि वर्षा भएको छ । यस्तै दिल्लीका अधिकांश क्षेत्र भारी वर्षाका कारण डुबानमा परेका छन् । यमुना नदीले खताराको तह पारेको जनाइएको छ । दिल्लीमा १५३ मिलिमिटर वर्षा मापन भएको छ । मौसम विभागले केही दिन मूलधारे वर्षा हुने चेतावनी दिएपछि दिल्ली सरकारले सबै शैक्षिक संस्था बन्द गराएको छ ।
गाजियाबादमा १६ जुलाईसम्मलाई विद्यालय बन्द गरिएको छ भने ग्रेटर नोयडा, फरीदाबाद तथा गुरुग्राममा पनि सबै शैक्षिक संस्था बन्द गरिएको छ । चण्डीगढमा पछिल्लो २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । भारी वर्षा र बाढी पहिरोले उत्तर र पश्चिम भारत प्रभावित भएको छ । हिमाचल प्रदेशसहित पहाडी राज्यमा भइरहेको मुसलधारे वर्षाले ठूलो क्षति पुर्याएको अधिकारीहरूले जनाएका छन् ।