झापा / इलामको माइजोगमाई गाउँपालिका–२, जोगमाईको टारसिङ गाउँमा पतिले पत्नीको हत्या गरी आत्महत्या गरेका छन् । बिहीबार राति माईजोगमाई– २ का ५७ वर्षीय पिताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती ५२ वर्षीया राधिका खतिवडा घिमिरेको  हत्या गरेका हुन् ।

खतिवडाले श्रीमतीको हत्या गरे पश्चात आफूले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । दुई श्रीमती  रहेका खतिवडा कान्छी श्रीमती सीता खतिवडासँग बस्दै आएका थिए । पिताम्बरले राति १०:३० बजे जेठी श्रीमतीको घरमा गएर उक्त घटना घटाएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

राधिकाको अनुहार र टाउकोमा चोट देखिएको छ । पिताम्बरको शव जेठी श्रीमती राधिकाको घरदेखि सय मिटर उत्तर बारीको रुखमा प्लाष्टिकको डोरीले झुन्डिएर आत्महत्या गरेको अवस्थामा बिहान ४ बजे फेला परेको प्रहरी निरीक्षक सुवेदीले बताए । कान्छी श्रीमती सीता भने बिहीबार माइती गएको र जेठी श्रीमतीकी छोरी रचना भने सकुशल रहेको साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।