झापा / गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा रोल्पाको गंगादेव गाउँपालिका -४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्दाजी ४० वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी गोपाल श्रेष्ठले जानकारी दिए ।
राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो । बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
उक्त घटनामा बस धनी सल्यान छत्रेश्री गाउँपालिका- ६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् । गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको घटनास्थलमा रहेका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।