झापा । इलामको सूर्योदय नगरपालिकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको मोटरपार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ। प्रदेश नं. १–०३–००१ ज ००१९ नम्बरको सो गाडीमा राखी भारतबाट अवैध रूपले ल्याउँदै गरेको करिब ७ लाख ८२ हजार रुपैयाँ बराबरको मोटरपार्ट्स तथा मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको हो।
सो गाडीभित्र डिजेल पाइप ८ थान, ब्याक लाइट कभर १० थान, इन्डिकेटर लाइट २० थान, पुस अटो स्विज २ प्याकेट, कार्बन १० थान, हेडलाइट १ थान, सिसा फ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन फेला पारिएको हो।
बरामद मोटरपार्ट्स तथा मदिरा गाडीसहित आवश्यक कारबाहीका लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको छ।
इलामको पशुपतीनगर, छब्बिसे, दुइमहेल, चारमहेल नाकाबाट भन्सार छलेर कपडा, गाइबस्तु, युरियामल, पार्टस, मदिरा, चिनी खाद्यान्न लगायत नेपाल भित्रीने र फोरेन गुड्स भारत जाने गरेको छ।