काठमाडौँ / नारायणगढ-मुग्लिङ सडकखण्ड फेरी अवरुद्ध भएको छ । ईच्छाकामना-५ को तुईनखोला नजिकै गएराति १२ बजे ठुलो पहिरो गएको जिल्ला ट्राफिक कार्यलय चितवनले जानकारी दिएको छ । पहिरो विहीवार र शुक्रबारको भन्दा ठुलो भएकाले पन्छाउन लामो समय लाग्ने देखिएको छ । ट्राफिक प्रहरीका अनुसार पहिरो पन्छाउने काम सुरु भएको छ ।
सडक कहिलेसम्म खुल्ने भन्ने यकिन नभएका कारण यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ । पूर्व र पश्चिमबाट काठमाडौँ जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्डलाई ’लाइफलाइन’ पनि भन्ने गरिन्छ ।यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।