काठमाडौँ / प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका- ७ बाट बेवारिसे अवस्थामा रहेको २ सय ६२ केजी गाँजा बरामद गरेको छ । सुराकको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
जितपुर सिमरा उपमहानगरपालिका स्थित जितपुर– वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् । बरामद भएको उक्त गाँजालाई भारत तर्फ लैजान लागेको आशङ्का गरिएको छ । असार १४ मा मकवानपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ट्रक चालकले जितपुर–वीरगन्ज सडकमा पार्किङ गरेर छाडेका थिए ।
बिआर–२५ जिए १४५८ नम्बरको ट्रकको छतभन्दा तलको भागमा गाँजा कारोबारीले फल्ट बटन बनाएर गाँजा लोड गरेका थिए । वीरगन्ज भन्सारबाट खाली नेपाल तर्फ आएको सो ट्रक गाँजा लिनकै लागी मकवानपुर पुगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।ट्रक चालक र धनीको खोजी भइरहेको एसपी बोगटीले जानकारी दिए ।