काठमाडौँ / रौतहटको मौलापुर नगरपालिका- ४ पतौरामा आमा र छोरीको हत्या भएको छ । २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको भएको हो । कविताको शव घरभित्रै र छोरीको शव भने पङ्खामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटना पश्चात मृतकका श्रीमान धिरेन्द्र साह, उनका बुवा नागेन्द्र साह लगायत परिवारका सदस्यहरू फरार भएका छन् । दाइजोको आरोपमा हत्या हुन सक्ने कविताका माइती पक्षले आरोप लगाएका छन् । तीन वर्षअघि विवाह गरेकी कवितालाई उनका श्रीमानले पटक-पटक दाइजोका लागि यातना दिने गरेको कविताका बुवा विजय शंकर साहले बताए । ‘बिहेपछि दाइजोमा सुनको औंठी र सिक्री दिन सकिएको थिएन ।
ज्वाइँ धिरेन्द्रले धेरै पटक छोरीलाई यो विषयमा कुटपिट गरेको थियो,’ साहले भने, ‘आखिरमा दाइजोकै लागि छोरी र नातिनीको हत्या गरेर ज्वाइँ फरार भए उनले भने ।’ मृतकका जेठानी र सासूलाई सोधपुछका लागि ल्याएका छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले भने, मृतकका श्रीमान् अहिलेसम्म फेला परेका छैनन्, उनको खोजतलास गर्दैछौँ ।’ घटनाको निष्पक्ष छानबिन गर्दै अपराधीहरूलाई कडा सजाय दिनु पर्ने कविताका माइती पक्षको माग छ ।