काठमाडौँ / कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ। नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हालसम्म प्रतिउडान आठ हजार पाँच सय रुपैयाँ शुल्क तिर्दै आएकामा अबदेखि प्रतिउडान १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।
नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईका अनुसार उक्त शुल्कमा बीमा रकम र पाइलटको खर्च समाहित गरिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनी बताउँछन् ।
पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ। यही कारणले खर्च बढेको भट्टराईले बताए । अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडानको छ हजार रुपैयाँ हाराहारीमा प्राप्त गर्ने नाका पूर्वउपाध्यक्ष शोभित बानियाँले बताए । उनले भने, ‘पहिला रु तीन हजार नौ सय पाउँथे।’
नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन् । तीमध्ये ५२ चालु अवस्थामा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए । सबै कम्पनीमा गरी तीन सय ७५ लाइसेन्स प्राप्त प्याराग्लाइडिङ पाइलट छन् । हाल दुई सय ५० पाइलट सेवामा रहेको उनले बताए ।