काठमाडौं / सकम्बरी बोलको गीतबाट चर्चामा आएकी कुसुम शर्माले अब अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी छन् । दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘सञ्जीवनी’ बाट उनले अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । फिल्ममा अभिनेता आर्यन सिग्देलसँग उनको जोडी बाँधिएको छ । फिल्म निर्माण  टिमले एउटा पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम र मुख्य कलाकारको बारेमा जानकारी गराइएको हो ।

निर्देशक श्रेष्ठ फिल्ममा आर्यनको म्याचोर्ड (परिपक्व) क्यारेक्टर रहेको जानकारी दिए । ‘उहाँले यस अगाडि धेरै लभस्टोरी फिल्ममा काम गर्नुभयो । तर, यो उहाँको करिअरकै फरक लभस्टोरी हुनेछ,’ उनले कुसुमलाई लिनुको कारणबारे पनि भने, ‘आर्यनजीको अघि फुच्ची देखिने महिला पात्र चाहिएको थियो । त्यसमा कुसुमलाई फिट देख्यौं । फिल्मको क्यारेक्टरमा उहाँ फिट देखिनुहुन्छ ।’