बिर्तामोड  / जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बेवारिसे तथा शंकास्पद अवस्थाका ६ वटा मोटरसाइकल नियन्त्रण  लिएको छ । झापाको भद्रपुर नगरपालिकाका छुट्टाछुट्टै स्थानबाट प्रहरी टोलीले गस्ती गर्ने क्रममा उक्त मोटरसाइकल नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भद्रपुर नगरपालिका वडा नं. ८ घोडामार चौकदेखि दक्षिणतर्फ जाने सडक खण्डको छेउमा बेवारिसे तथा शंकास्पद अवस्थामा रहेका चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।  त्यस्तै भद्रपुर नगरपालिका वडा नं. ८ चन्द्रगढीदेखी भद्रपुर आवत–जावत गर्ने पक्की सडक खण्डको पश्चिम किनारबाट पनि बेवारिसे तथा शंकास्पद अवस्थामा रहेका दुईवटा गरी जम्मा ६ वटा मोटरसाइकल नियन्त्रणमा छ ।

प्रहरीले मे.९ प.३०८७ नं. भएको १२५ सिसि भएको रातो रङ्गको सुपर स्पलेण्डर मे.६ प.३७४८ नं. भएको १६०  सिसि भएको एनएस, मे.९ प १०७० नं. भएको १५०  सिसि भएको कालो रङ्गको पल्सर, मे. १० प. ९५५९ नं. भएको, २२० सिसि भएको निलो रङ्गको पल्सर, मे. ७ प. ३६५० नं. भएको सिल्भर रङ्गको टिभिएस कम्पनीको भिक्टोर र मे.१० प. ८१७२ नं. भएको, १५० सिसि भएको कालो रङ्गको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका छ वटै मोटरसाइकल आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।