झापा / पाँचथरको तीन वटा पालिकाका सामुदायिक विद्यालयमा आज (मङ्गलवार) र भोलि (बुधवार) बिदा दिइएको छ । फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र हिलिहाङ गाउँपालिकाका सामुदायिक विद्यालयमा दुई दिन बिदा दिइएको हो ।
निरन्तरको वर्षाका कारण यी पालिकामा बाढी तथा पहिरोको जोखिम रहेको र विद्यार्थीहरू विद्यालयसम्म पुग्न कठिनाइ भएकोले दुई दिन विद्यालय बन्द गरिएको फिदिम नगरपालिका शिक्षा शाखा अधिकृत निर्मला दाहालले जानकारी दिइन् ।
गएको शनिवार रातिदेखिको निरन्तर वर्षाले यी तीन पालिकामा बाढी तथा पहिरोको जोखिम बढेको हो । बर्खे बिदाबाट कटान हुने गरी दुई दिन विद्यालयमा बिदा दिइएको अधिकृत दाहालले बताए ।
पहिरोका कारण ३ सय ३४ जना विस्थापित
असार २ गते रातिदेखि जारी वर्षाका कारण गएको पहिरोका कारण पाँचथर जिल्लामा ३ सय ३४ जना विस्थापित भएका छन् ।
जिल्लाको याङवरक, फालेलुङ, हिलिहाङ र फिदिममा यत्तिका नागरिक विस्थापित भएका हुन् । पहिरोका कारण हालसम्म ६८ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।
पछिल्लो पटक पछिल्लो पटक गएको पहिराले जिल्लाको फालेलुङ गाउँपालिका -३ लुम्मिनदाङका २५ घर परिवार विस्थापित भएका छन् । यस्तै, हिलिहाङ -७ मा ७ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
जिल्लाको फालेलुङ -५ डाँडाडाँ बस्ती नजिकै जमिन भासिएपछि ४० घर जोखिममा परेको वडाध्यक्ष भरत खपाङ्गीले जानकारी दिए । बाढी पहिरो परेर हालसम्म ३ जनाले ज्यान गुमाएका छन भने ३ जना बेपत्ता छन् । पहिरोका कारण १५ वटा झोलुङ्गे पुल बगेका छन् । बाढीले हेंवा तमोर नदीका पुल बगाँउदा मेची राजमार्गमा आवागमन ठप्प भएको छ । ठाउँ ठाउँमा विद्युत् र खानेपानी आयोजनामा क्षति पुगेको छ ।