काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि उनी सोमबार दिउँसो सङ्खुवासभाको तुम्लिङटार पुगेका छन् । आइतबार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी सङ्खुवासभामा एकको मृत्यु हुनुका साथै १८ जनाभन्दा बढी बेपत्ता भएका थिए ।
प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए । उनले उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयंसेवी सङ्घसंस्थालाई अपिलसमेत गरे । प्रधानमन्त्री प्रचण्ड सोमबार नै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपरान्ह काठमाडौं फर्कनेछन् ।