झापा / पूर्वी नेपालको कोशी प्रदेशमा बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । कोशी प्रदेशको पहाडी भू -भागमा गएको बाढी पहिरोमा परेर गत शनिबारदेखि हालसम्म आठ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतका सुरक्षा निकाय र स्थानीयको सहयोगमा हराइरहेकाहरुको खोजी तथा उद्धार जारी छ । अहिले पनि पानी पर्ने क्रम नरोकिएकाले खोजी तथा उद्धार कार्य प्रभावित भएको सुरक्षा निकायले जनाएका छन् ।

हालसम्म ताप्लेजुङमा ३, पाँचथरमा २ र भोजपुर तथा संखुवासभामा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  मृत्यु हुनेमा ५ पुरुष, २ महिला एक बालक रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ताप्लेजुङ फिदिङ्वा- ६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशर राई र ३६ वर्षीय सुरेश राई छन् ।

OM Sai Pathibhara Hospital

त्यसैगरी सङ्खुवासभाको पाँचखपन- ९ का २६ वर्षीय सन्तोष राई, पाँचथर फालेलुङ -४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू र भोजपुर ट्याम्केमयुम- ८ का ३२ वर्षीय मन्दीप राईले पनि ज्यान गुमाएका छन् ।