काठमाडौं । बाल सेना दुरुपयोगलगायत आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज (मंगलवार) सुनुवाइ हुँदैछ । पूर्व अयोग्य लडाकु लेलिन बिष्टसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

दश वर्षसम्म चलेको सशस्त्र युद्धको समयमा बालसेना प्रयोग गरी युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष‘प्रचण्ड’विरुद्ध आइतवार सर्वोच्चमा रिट दर्ता भएको थियो ।

यसअघि अदालत प्रशासनले दरपीठ गरिदिएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले शुक्रवार दिएको आदेशअनुसार दर्ता भएको थियो ।

रिटमा विष्टले माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईमाथि कारबाहीको माग गरेका छन् ।