काठमाण्डौ   ।    पूर्व बालसेनाले हालेको रिट आज सर्वोच्च अदालतमा दर्ता भएको छ। नेकपा (माओवादी केन्द्र)को दशक लामो सशस्त्र द्वन्द्वकालका बालसेनाहरूको योगदानको अवमूल्यन गरेको भन्दै पूर्व बालसेनाहरूले सर्वोच्च अदालतमा रिट दिएका हुन्।

पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, परमेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईले रिटमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहित गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायतलाई विपक्षी बनाएका छन्।Screenshot_2023-06-11-14-09-47-83_a23b203fd3aafc6dcb84e438dda678b6

यसअघि सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गरेको थियो। त्यस विरुद्ध पूर्व बालसेनाहरूले इजलासमा निवेदन दिएका थिए। सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले रिट दरपीठ गर्ने निर्णय खारेज गरेका थिए। न्यायाधीश भट्टराईको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो।

त्यसपछि आज पूर्व बालसेनाहरूले सर्वोच्चमा रिट दिएका हुन्। उनीहरूको रिट दर्ता गरिएको छ भने जेठ ३० गते पेशी तोकिएको छ।