काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाले अझै केही दिन गर्मी बढ्ने देखिएको जनाएको छ ।
महाशाखाका अनुसार आजको मौसम कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
बेलुका कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भू-भागहरूमा तातो हावा/लू चलिरहने देखिन्छ । साथै कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । तसर्थ, अत्याधिक गर्मी तथा मेघ-गर्जन/चट्याङबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।