काठमाडौं । भारतबाट तस्करी गरेर ल्याएको रासायनिक मल नियन्त्रणमा लिन खोज्दा सर्लाहीमा गाउँले र प्रहरीबीच झडप भएको छ । बिहिबार दिउँसो ३ बजेतिर सर्लाहीको धन्कौल गाउँपालिका–६ बैरिया टोलमा गाउँले र प्रहरीबीच झडप भएको हो। झडपमा दुईजना प्रहरी घाइते भएका छन्, स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँचसेल अश्रुग्यास प्रहार गरेको छ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारका अनुसार स्थानीय राजु सहनीको घरमा भारतबाट ठूलो मात्रामा रासायनिक मल ल्याएर राखेको सूचनाको आधारमा प्रहरी टोली पुगेको थियो । मल नियन्त्रणमा लिन प्रयास गरेपछि स्थानीयले ढुंगा मुढासहिले आक्रमण गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
गाउँलेको ढुंगामुढाबाट प्रहरी निरीक्षक सुमित कुशवाह र वरिष्ठ हबल्दार कन्हैया साह घाइते भएका छन् । दुबैजनाको टाउको र शरिरका विभिन्न भागमा ढुंगा लागेको डीएसपी पञ्जियारले बताए ।






































