काठमाडौँ । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का दुई जना अधिकारीको शव फेला परेको कछ ।

घटनाको पाँचौँ दिन सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टर सुवाश थापाको कमाण्डको गोताखोरले सुनकोशीबाट गाडीसहित दुई जनाको शव निकालेको हो । शवको सनाखत हुन बाँकी रहेको थापाले बताए ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर निस्किएका थिए ।

बेपत्ताहरूको खोजीका लागि चार वटा एक्साभेटर, दुइटा डोजर र केही ड्रम ट्रक लगाएर सोमबार रातको ९ बजेसम्म पानीको बहाव फर्काउन लगातार मेशिनमार्फत काम गरिएको थियो ।