काठमाडौँ । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीको खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिनमा समेत अझैसम्म ती अधिकारीहरूलाई भेट्टाउन सकिएको छैन ।
सिटिइभिटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्य पहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलञ्जोर गाउँपालिका ७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।
भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । उनीहरू सबै बेपत्ता छन् । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर निस्किएका थिए ।
खोजी जारी भए पनि हालसम्म बेपत्ता व्यक्ति र गाडी भेटिएको छैन । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोलीले शुक्रबारदेखि खोजी निरन्तर गरिरहेको छ ।
एकातर्फ पानीको बहावलाई फर्काउने काम भइरहेको छ भने अर्कोतर्फ गोताखोरहरूले चुम्बकसमेत प्रयोग गरी गहिराइमा पुगेर खोजी गरिरहेका छन् । बेपत्ताको खोजी गर्ने काममा जुटेको टोलीले पाँचौँ दिन मंगलबार पनि प्रयास जारी राखेको छ । चर्को घामको प्रवाहसमेत नगरी गोताखोर खोजीमा लागिपरिहेका छन् ।
दुवै तर्फबाट सुनकोशीलाई छेकेर अब एउटा भँगालो थुनेपछि पूरै पानी रामेछापबाट बहने र बेपत्ताहरूको खोजी गर्न सहज हुने खोजी गोताखोर केशव महतले जानकारी दिए । घटनास्थल वरपर नदीको पानी ठाडो बगेकाले करेन्ट बढी हुँदा गहिराइमा पुगेर खोज्न नसकिएको उनको भनाइ थियो ।
‘पानीको वेग बलियो छ, अलिकति तल जानासाथ हुत्याइदिन्छ, घुमाउनेमा फसिने डर भएकाले पानी ‘डाइभर्ट’ नभएसम्म खोजीकार्य प्रभावकारी हुन सकेको छैन,’ गोताखोर महतले भने ।
सुनकोशी नदीको पानीमा अत्यधिक करेण्ट भएकाले नदीको तल्लो भागसम्म पुग्ने गरी ५० केजी वजन जीउमा बाँधेर खोजी सुरु भए पनि धमिलो पानी भएकाले भित्र नदेखिँदा समस्या भएको छ । उनका अनुसार नदीको पानी कञ्चन भइदिएको भए यति ठूलो समस्या हुने थिएन।
घटना भएको दोस्रो दिनदेखि नै सुनकोशीको पानीलाई रामेछापतर्फको किनारबाट पठाएर घटनास्थलमा पानी कम गराउने प्रयास भइरहेको छ । चार वटा स्काभेटर, तीनवटा जेसिबी, डोजर, पाँच वटा टिपर र ट्र्याक्टर लगाएर पानीका बहाव अर्कोतर्फबाट फर्काउन प्रयास भइरहे पनि हालसम्म सफल भएको छैन ।
चारवटा एक्साभेटर, दुइटा डोजर र केही ड्रम ट्रक लगाएर सोमबार रातको ९ बजेसम्म पानीको बहाव फर्काउन लगातार मेशिनमार्फत काम गरिएको थियो । रातमा बत्ती बालेर लगातार गरेको मेहनत मंगलबार बिहान हेर्दा उस्तै भयो । अहिले सोही कार्य दोहोर्याइएको छ ।






































