Screenshot_2023_0604_074415विराटनगर । श्री माध्यमिक विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा फेला परेका मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मृगौलियास्थित लेखापाल मनिल ढकालको उपचारका क्रममा मृत्यु भएको छ ।

विद्यालयको शौचालयमा जलिरहेको देखेपछि स्थानीयले प्रहरीको सहयोगमा उनको उद्दार गरी तत्कालै उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याएका थिए। कोशी अस्पतालले थप उपचारका लागि काठमाडौंंस्थित वर्न हस्पिटलमा रेफर गरेकोमा उपचारका लागि लैजाने क्रममा शनिबार साँझ ढकालको मृत्यु भएको हो।

लेखापाल ढकालले बिषादीजन्य वस्तु सेवन गरेपछि आफैं चढ्ने प्रदेश १–०२–०४३ प २४४९ नम्बरको मोटरसाइकलबाट पेट्रोल निकालेर आफैंलाई खन्याएर आगो लगाएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ। विद्यालयको शौचालयमा बिषादीको खाली बट्टा र पेट्रोल खन्याइएको बोतल समेत फेला परेको मोरङ प्रहरीको भनाई छ।

४० वर्षीय ढकालको शरीरको माथिल्लो भाग अधिकांश जलेको थियो। ढकाललाई विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा स्थानीयले शनिबार बिहान पौने ७ बजेतिर देखेपछि उद्दार गरेका थिए।

जलनले चिच्याइरहेको सुनेपछि स्थानीयले थाहा पाएर उद्दार गरेका थिए। घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरीले ढकालले किन आफ्नै शरीरमा आगो लगाए भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए।

पारिवारिक स्रोतका अनुसार लेखापाल ढकाल शनिबार बिहानै विद्यालय जान्छु भन्दै हिंडेका थिए। ‘घटनास्थलमा चिफ नामक विषादीको बट्टा पनि भेटिएको थियो, पेट्रोलको गन्ध आउने बोतल फेला परेका थिए’ मोरङ प्रहरीका प्रवक्ता दाहालले भने।

घटनाको प्रारम्भिक अवस्था हेर्दा ढकालले आत्महत्याको प्रयास गरेको बुझ्न सकिने प्रहरीको ठम्याई छ। तर त्यसको कारण भने थप अनुसन्धान सकिएपछि मात्रै स्पष्ट हुने जनाएको छ । लेखापाल ढकालका श्रीमती, एक छोरा र एक छोरी रहेको जनाइएको छ ।