काठमाडौँ । भारतको उत्तर–पूर्वी राज्य मणिपुरमा गत महिना हिंसा भड्किएपछि कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् ।यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार घटना घटेका छन् । ती आगजनीमा करोडौंको सम्पत्ति नष्ट भएको छ । आगलाघिका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् । स्थिति अझै तनावपूर्ण बनेकाले घरबाट विस्थापित भएका मानिसहरू राहत शिविरमा बसिरहेका छन्।
बिहीबार निवेदन दिएपछि पछिल्लो २४ घण्टामा १४० भन्दा बढी हतियार स्थानीयले प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रदेश सरकार स्रोतले जनाएको छ । मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने मागलाई लिएर स्थानीयवासीले गत मे ३ मा राज्यका १० जिल्लामा ‘आदिवासी एकता मार्च’ आयोजना गरेपछि हिंसा भड्किएको थियो । झडप मुख्यतया मेइतेई र कुकी समुदायबीच भएको थियो ।
स्थानीय सञ्चार माध्यमकाअनुसार मणिपुरको कुल जनसङ्ख्याको करिब ५३ प्रतिशत मेइतेई समुदायका मानिसहरू छन् । ती अधिकांश इम्फाल उपत्यकामा बस्छन् । त्यसैगरी नागा र कुकी समुदायका जनजातिको जनसंख्या ४० प्रतिशत छ र तिनीहरू राज्यका पहाडी जिल्लाहरूमा बसोबास गर्छन् । हाल शान्ति र अमनचैन कायम गर्न भारतीय सेना र अर्धसैनिक असम राइफलका १० हजारभन्दा बढी सुरक्षाकर्मीहरू त्यहाँ तैनाथ गरिएको छ । चर्को हिंसाका बीच गृहमन्त्री अमित शाहले राज्यमा चार दिनसम्म स्थलगत भ्रमण गरेर स्थितिको समीक्षा गरेका थिए ।
भ्रमणको अन्तिम दिन बिहीबार मन्त्री शाहले झडपको न्यायिक छानबिन छिट्टै थाल्ने घोषणा गरेका थिए । मणिपुरका गभर्नर अनुसुया उइकेको नेतृत्वमा सबै राजनीतिक दलका प्रतिनिधिसहितको शान्ति समिति पनि राज्यमा हिंसालाई शान्त पार्नको लागि लागिपरेको छ ।






































