धनकुटा । धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईकोे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतकले यही जेठ १५ गते धनकुटा–७ मा रहेको चुलिवन जङ्गलबाट जङ्गली च्याउ ल्याएर खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए ।

जिल्लामा उपचार हुन नसकेपछि हिजो बिहीबार उनीहरूलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो । उपचारपछि बुबा ठीक भएर आमा छोराको स्याहारमा रहेका थिए भने आमा छोराको स्वास्थ्यमा सुधार भइरहेको थियो ।

अचानक आज मृतक आमाको रक्तचाप कम भई बेहोसीको अवस्था छाएको र छोराको मिर्गौलामा समस्या देखापरेको थियो । त्यसपछि भने थप उपचारका लागि धरान रेफर गरिएको थियो ।