काठमाडौं । सरकारले ४४ जना सहसचिव सरुवा गरेको छ । कतिपय शक्तिशाली सहसचिवहरूले सरुवा भएको २२ दिनमै सरूवा बदर गर्न सफल भएका छन् ।

२०८० वैशाख २० गते  संघीय मामिला तथा सामान्य प्रशासनबाट सहसचिव कमल भट्टराईको सरुवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गरिएको थियो।

मन्त्री सुदन किराँतीले विवादस्पद सहसचिव भन्दै उनलाई मन्त्रालयमा भित्र्याउनै चाहेनन् । उनको सरुवा पत्र पर्यटन मन्त्रालयले बुझ्न नमाने पछि यो बिचमा सहसचिव भट्टराईले चलखेल गरेर सामान्य मन्त्रालयमा थमौती गर्दै प्रवक्ताको समेत जिम्मेवारी लिन सफल भएका छन् ।

अघिल्लो साता २२ सहसचिवको सरुवा  गरिएको थियो । जसमा रक्षा मन्त्रालयका सहसचिव प्रकाश पौडेल अर्थ मन्त्रालयमा सरुवा हुने समाचार बेस्सरी बाहिर आएको थियो उनी रोकिएका छन ।

सरुवाको चर्चामा नै नरहेका खानेपानी मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका काम गर्ने जाँगर भएका अर्थ, राजश्व, कर प्रशासनका अनुभवी सहसचिव शोभाकान्त पौडेल भने लामो समयपछि पुन अर्थ मन्त्रालयमा पुगेर  भन्सार विभागको महानिर्देशक बनेका छन्।

सहसचिव शोभाकान्त पौडेलले भन्सार विभागको महानिर्देशकको जिम्मेवारी पाएपछि चोरी, तस्करी र भन्सारका केही लाेभीपापी कर्मचारीहरुको बेइमानीले थला परेको भन्सार महसुलमा अब केही बढोत्तरी  हुने आशा र अपेक्षा अर्थ मन्त्रालयले गरेको स्रोत बताउछ।

खानेपानी मन्त्रालयको प्रशासन महाशाखामा भने सत्य निरूपण तथा मेलमिलाप आयोगका सहसचिव अर्जुन गौतमलाई सरूवा गरिएको छ ।

यो सरूवामा लुम्बिनी प्रदेशका सचिव शन्तबहादुर सुनार गृहमा आउन सफल भएका छन । यस अघि उनी कसुरजन्य सम्पत्ति व्यवस्थान बिभागबाट चार महिनामा नै सरुवामा परेका थिए ।

बिभागमा राम्रो काम गर्दागर्दै सरुवा गरिएको भन्दै उनले असन्तुष्टि जनाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव गोपाल कुमार अधिकारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत सुरेश राउतलाई गृह मन्त्रालय वा अन्तर्गतका निकायमा सरूवा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको राष्ट्रपतिको कार्यालयमा सरूवा गरिएको छ ।

तीन महिनादेखि कुर्सी नपाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बरण्डामा थन्किदै आएका सहसचिव मदन भुजेलको सरुवा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरिएको छ ।

सो मन्त्रालयमा कार्यरत कालीप्रसाद पराजुलीलाई चिकित्सा शिक्षा आयोगमा सरूवा गरिएको छ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी सचिव मेघनाथ तिमल्सेनालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

लेखनाथ दाहाललाई कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा सरूवा गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशमा कार्यरत नारायणप्रसाद शर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरूवा गरिएको छ ।

सामान्यको अतिरिक्त समूहमा रहेका कमलकुमार अधिकारीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । सामान्यकै सहसचिव कविराज पौडेललाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सरूवा गरिएको छ ।

वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशमा कार्यरत सचिव धिरेन्द्रकुमार प्रधानलाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ।

सो मन्त्रालयका यज्ञनाथ दाहाललाई बागमती प्रदेशको वन तथा बाताबरण मन्त्रालयको सचिवमा सरूवा गरिएको बताइएको छ ।

सुदूर पश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत सचिव भगवान् अर्यालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।

विगत तीन महिनादेखि जिम्मेवारविहीन रहेका सहसचिव गणेशराज वस्तीलाई शहरी विकास मन्त्रालयबाट प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।

बित्त आयोगमा कार्यरत सहसचिव दीपक कुमार दासलाई शहरी विकास मन्त्रालयमा सरूवा गरिएको छ ।